नेपालको संविधान, विद्यमान खेलकुद नीति,  खेलकुद विकास ऐन, नियमावली एवं नेपाल तेक्वान्दो संघको विधान मर्म र भावना अनुरुप खेलकुदको समुचित विकास तथा विस्तारका लागि मूल आधारको रुपमा  रहेको गाउँ स्तरलाई केन्द्रविन्दु बनाई खेलकुद प्रतिभाको खोजी गर्दै प्रतिभाको संरक्षण, संबर्द्धन र प्रबर्द्धन गर्ने । राष्ट्र निर्माण एबम् विकासमा खेलाडीहरुको भूमिकालाई सबल, सक्षम एवं प्रभावकारी बनाउन खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी उत्कृष्ट अनुशासित र सक्षम खेलाडीहरु तयार गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भै गाउँ स्तर हुदै राष्ट्रको छवि उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी तयार गर्ने हेतुले रोल्पा जिल्ला तेक्वान्दो संघ लागि परेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

नेपालको तेक्वान्दो खेलले राष्ट्रिय, एसियाली, दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा धेरै मेडल लिई  देशको छवि उच्च बनाई राखेको कुरा यहाँहरु सबैमा सर्वविदितै छ । 

तेक्वान्दो खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान् मानव संशाधनको विकास गरी कुलतमा फसेका यूवाहरुलाई समेत अनुशासित र मर्यादित समाज निर्माण गर्दै तेक्वान्दो खेलकूदलाई रोजगारमूलक व्यवसायको रूपमा स्थापित गर्दै तेक्वान्दो खेलको बृत्ति विकासको अभियानमा रोल्पा जिल्ला तेक्वान्दो संघ जुटेको छ । तेक्वान्दो खेलसंग सरोकार तथा अभिरूचि राख्नुहुने शुभचिन्तक तथा खेल विकास प्रेमी नागरिकहरूलाई संगठित गरी गाउँस्तर, वडास्तर, स्थानीय तह हुदै जिल्ला भरी तेक्वान्दो खेलको ब्यापक रूपमा बिकास तथा विस्तार गरी यस संघसँग आबद्ध तेक्वान्दो विकास समिति, खेलाडी, खेल प्रशिक्षक, खेल निर्णायक, खेलकर्मी तथा खेल पदाधिकारीहरुको हक, हितलाई संरक्षण गर्दै खेलाडीहरूको सहभागितालाई सुदृढ, सुनिश्चित र नतिजामुखि बनाई अन्तर्राष्ट्रिय जगतमा नेपाल, नेपाली र रोल्पा जिल्लाको मानप्रतिष्ठा विश्वमा उचो बनाउन प्रयासरत रहेको छ ।  तेक्वान्दो खेलको माध्यमबाट मुलुकमा स्वस्थ, अनुशासित, आत्मरक्षा र कर्मठ नागरिक उत्पादन गर्ने अभियानलाई सार्थक बनाउन “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैको लागि खेलकुद” भन्ने राष्ट्रको मूल मर्मलाई साकार पार्न रोल्पा जिल्ला तेक्वान्दो संघ खेलकुदसँग सम्बन्धित पूर्वाधार निर्माण, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रमहरू कार्यान्वयन गर्न क्रियाशील रहदै आएको छ ।